नयाँ मन्त्रिपरिषद् बन्दै, कुन-कुन पार्टीका को-को ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्का सबै मन्त्रीलाई हटाउने भएका छन् । स्रोतका अनुसार, अहिलेका सबै मन्त्री हटाउने र सानो आकारको मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएको छ । नयाँ मन्त्रिपरिषद्मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एक/एक जना मन्त्री बन्दैछन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालकोटस्थित निजी निवासबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारतर्फ लागेका छन् । प्रधानमन्त्रीले बोलाएका कारण आफू बालुवाटार जान लागेको प्रतिक्रिया दिए ।

सत्ता समीकरण बदलिने र गठबन्धन टुट्ने सम्भावना बढे पछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । सभापति देउवाले आफ्नै निवास बूढानीलकण्ठमा १० बजेकालागि  आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाएका हुन् । देउवाले बिहानै प्रधानमन्त्री प्रचण्डलाई पनि भेटेका थिए ।

विकसित राजनीतिक घटनाक्रमपछि प्रतिनिधिसभाको पूर्वनिर्धारित बैठक स्थगित हुने भएको छ । संसद सचिवालयका एक अधिकारीले बैठक स्थगित हुनेबारेको मौखिक जानकारी आएको भन्दै केहीबेरमै बैठक स्थगितबारे सूचना निकाल्ने तयारी भएको जानकारी दिए ।
प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजेका लागि तय भएको थियो भने प्रधानमन्त्री प्रचण्डले संसदलाई सम्बोधन गर्ने कार्यसूची थियो ।

राप्रपा भने सरकारमा नजाने बुझिएको छ। आन्दोलन घोषणा गरिसकेको अवस्थामा सरकारमा जाने सवाल नै नरहेको पार्एटीका एक  पदाधिकारीले बताएका छन् ।