रिना-कालीमाया हत्याकाण्ड: थप छानविन हुनुपर्ने माग, दोषी भनिएका सुस्मिता र आकांक्षा आए मिडियामा

रुकुम (पूर्व) को पुथा उत्तरगङ्गा गाउँपालिका–३ मा २०७९ चैत २२ गते ८ वर्षीय कालिमाया बुढामगर र १० वर्षीय रिना बुढामगरको विभत्स हत्याको थप छानविन हुनुपर्ने विषय संसद्मा प्रवेश गरेको छ । रुकुम (पूर्व) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य पूर्णबहादुर घर्तीमगरले आज प्रतिनिधि सभाको शून्य समयमा सो मुद्दा उठान गरेका हुन् ।

भिडियो हेर्नुहोस 


रिना हत्या प्रकरणमा दोषी करार भएका सुस्मिता बुढामगर र आकांक्षा बुढामगरले उक्त घटनाको दोषी आफूहरु नभएको र आफूहरुलाई फसाइएको भन्दै  पत्रकार सम्मेलनमार्फत जानकारी गराए । आफ्ना दुई छोरी गुमाएका पीडित तारामान बुढाले उक्त घटना सुस्मिता र आकांक्षाले घटाए भनेर विश्वास गर्न सकिने अवस्था नै नरहेको बताए ।

सोही पत्रकार सम्मेलनलाई उदृत गर्दै सांसद् घर्तिमगरले सो विषय संसदमा उठाएका हुन् । उनले उक्त घटनामा गृहमन्त्रालय र प्रहरी मुख्यालयको ध्यानाकार्षण गराउँदै थप छानविनको माग गरे ।

‘गत २०७९ चैत २२ गते रुकुम पूर्वमा १० वर्षकी रिना बुढा र ८ वर्षकी कालीमाया बुढा मृत अवस्थामा फेला परे । प्रहरी अनुसन्धानले सोही वर्षका ११ वर्षीय सुस्मिता बुढा र १२ वार्षीय आकांक्षा बुढा दोषी ठहरिए । अभियुक्तहरु नाबालिका भएकाले छ महिना सुधार गृहमा रहेर रिहा भए । तत्पश्चात  मृतकका बुबा तारामान बुढा र अभियुक्त भनिएका सुस्मिता बुढा र आकांक्षा बुढाले रिपोर्टर्स क्लबमा आफू अभियुक्त नभई अरुनै भएको, सुस्मिता र आकांक्षालाई मार्ने धम्की दिएको, प्रहरीले कुटपिट गरेर बयान दिन बाध्य पारेको बयान दिएका छन् । यदि यो कुरा साँचो हो भने एकतिर सुस्मिता र आकांक्षाको मानव अधिकार हनन भएको छ । अर्कोतिर दोषीहरु खुलेआम हिड्ने अवस्थाले हाम्रो अनुसन्धान कति फितलो रहेछ भन्ने प्रश्न चिन्ह खडा भएको छ । तसर्थ, सम्माननीय सभामुखमार्फत म गृहमन्त्रालय र प्रहरी मुख्यालयको ध्यानाकार्षण गराउँदै थप अनुसन्धान गर्न निवेदन गर्छु,’– सांसद घर्तीमगरले भने ।