राष्ट्रपति रामचन्द्र पौडेलले लिए शपथ, राष्ट्रपतिको रूपमा कस्ता सुविधा पाउँछन्?

नेपालको तेस्रो राष्ट्रपतिका रूपमा नेता रामचन्द्र पौडेलले सोमवार दिउँसो पदभार ग्रहण गरेका छन्।राष्ट्रपति पौडेलले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरे हुन् । शपथ ग्रहण गरेसँगै आगामी पाँच वर्षका लागि राष्ट्रपतिको कार्यकाल औपचारिक रूपमा सुरु भएको हो। राष्ट्रपति पौडेल फागुन २५ गते भएको चुनावबाट राष्ट्रपति निर्वाचित भएका थिए। उनी नेपालको राष्ट्रपति बन्ने तेस्रा व्यक्ति हुन्। नेपालका लागि यो चौथो राष्ट्रपतीय कार्यकाल हो।

रामवरण यादवपछि नेपालकी दोस्री राष्ट्रपति बनेकी विद्या भण्डारी नयाँ संविधान जारी भएपछि पुनः राष्ट्रपति निर्वाचित भएकी थिइन्। गत साता प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपालको संविधानको धारा ६२ तथा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम रामचन्द्र पौडेल नयाँ राष्ट्रपति पदमा निर्वाचित भएको प्रतिवेदन राष्ट्रपति भण्डारीसमक्ष पेस गरेका थिए। नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल नयाँ राष्ट्रपति चुनिएका हुन्। निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गतेदेखि सकिएको थियो।

शपथ लिँदै रामचन्द्र पौडेल

शीतल निवासमा आयोजित समारोहमा विभिन्न संवैधानिक अङ्गका प्रमुखहरू उपस्थित थिए। तर विदेशभ्रमणमा रहेकाले सभामुख देवराज घिमिरे भने उक्त कार्यक्रममा सहभागी भएनन्। नयाँ राष्ट्रपतिले पदभार ग्रहण गरेसँगै निवर्तमान राष्ट्रपतिको बिदाइ गरिने अभ्यास छ। अब भण्डारी निजी निवास फर्किने राष्ट्रपतिका विज्ञ सल्लाहकार टीका ढकालले  बताए। “आज निवर्तमान राष्ट्रपतिज्यूलाई राज्यको तर्फबाट औपचारिक बिदाइ भयो। उहाँले पदभार हस्तान्तरण गरेसँगै  नयाँ राष्ट्रपतिले कार्यभार सम्हाल्नुभएको छ। अब उहाँ निजी निवास फर्कनुपर्छ,” ढकालले भने।

राष्ट्रपति

राष्ट्रपतिको रूपमा कस्ता सुविधा पाउँछन्?

बहालवाला राष्ट्रपति र उपराष्ट्रपतिको हकमा पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७४ले राष्ट्राध्यक्षले कस्तो सेवा र सुविधा प्राप्त गर्छन् भन्नेबारे व्यवस्था गरेको छ ऐनले राष्ट्रपति र उपराष्ट्रपतिलाई मासिक पारिश्रमिकदेखि आवास, सवारी तथा इन्धन अनि सञ्चार सुविधाको व्यवस्था गरेको छ। पौडेलले राष्ट्रपतिका रूपमा मासिक १,५०,४५० रुपैयाँ पारिश्रमिकका प्राप्त गर्नेछन्। त्यस्तै पोसाकका लागि वार्षिक २५,००० रुपैयाँ पाउने व्यवस्था उक्त ऐनले गरेको छ।

कानुनअनुसार राष्ट्रपति र उपराष्ट्रपतिलाई प्रत्येक महिना मासिक पारिश्रमिक बराबरको अतिरिक्त रकम पाउँछन्। यस्तो रकम अतिथि सत्कार तथा भइपरी खर्चबापत दिइने उल्लेख छ। त्यस्तो खर्चको बिल भरपाई पेस गर्नुपर्दैन। ऐनले राष्ट्रपति र उपराष्ट्रपतिलाई दैनिक भत्ता अनि बीमाको पनि व्यवस्था पनि गरेको छ।देशभित्रै भ्रमण गर्दा दुवैले ३,३०० रुपैयाँका दरले दैनिक भत्ता पाउँछन् भने विदेश भ्रमणका क्रममा दिनको २५० अमेरिकी डलर प्राप्त गर्छन्।

युरोपेली राष्ट्रहरू, अस्ट्रेलिया, न्यूजील्यान्ड, अमेरिका, क्यानडा, कुवेत, कोरिया, जापान, हङ्‌कङ, रुस, कतार, जाम्बिया, यूएई, सिङ्गापुर, लेवनान र बहराइनको भ्रमण गर्दा उक्त दरमा ३३ प्रतिशत थप रकम उपलब्ध गराइने कानुनी व्यवस्था छ। चाडपर्व खर्चबापत उनीहरूले आफ्नो धर्म, संस्कृति र परम्परा अनुसार मनाइने चाडपर्वका लागि आफूले खाइपाइ आएको एक महिनाको पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष प्राप्त गर्ने प्रावधान छ।

राष्ट्रपति