सिस्नोपानिको राम्रो प्रस्तुति ,मनोज गजुरेल , मदनकृष्ण श्रेष्ठ , स्वतन्त्र भएर सुन्दा हेर्दा मनोरन्जनात्मक, बिशेष ( भिडियो )

सिस्नोपानिको राम्रो प्रस्तुति ,मनोज गजुरेल , मदनकृष्ण श्रेष्ठ , स्वतन्त्र भएर सुन्दा हेर्दा मनोरन्जनात्मक, बिशेष ( भिडियो )


 

हास्यव्यंग्यमा रुचि हुने जोसुकैले यो नाम पक्कै सुनेको हुनुपर्छ ।

समसामयिक विषयलाई हास्यव्यंग्यको विषय बनाउनमा  खप्पिस त्यो  नाम हो, मनोज गजुरेल ।

गत वर्षको चर्चित रियालिटी सो ‘कमेडी च्याम्पियन’बाट त उनी झन् लोकप्रिय बने । उक्त सोमा सहभागी प्रतिस्पर्धीको प्रस्तुति मन पर्नासाथ गजुरेल ‘करोड, करोड’ भनेर प्रतिक्रिया दिइहाल्थे । उनको यो कमेन्ट भाइरल नै भयो ।



उक्त कमेडी सो चलिरहेकैबखत तत्कालीन सूचना सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाको ७० करोड घुस बार्गेनिङ गरेको अडियो बाहिरियो । त्यसपछि गजुरेलको करोडवाला डायलग झन् भाइरल भयो– ७० करोडका रुपमा ।



गजुरेल प्रचण्ड, केपी ओलीलगायत कैयौँ नेपाली राजनीतिज्ञको मात्र होइन, भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति ट्रम्प, चिनियाँ राष्ट्रपति सि जिङ फिङको पनि दुरुस्तै क्यारिकेचर गरेर लोकप्रिय बनेका छन् । झट्ट हेर्दा साँच्चै सक्कली व्यक्ति नै आएर अगाडि उभिएजस्तो आभास हुने गरी उनले प्रस्तुति दिने गरेका छन् । चार वर्षअघि ‘सिस्नोपानी देउसी भैलो’मा उनले ‘प्रचण्ड’ बनेर दिएको प्रस्तुतिले युट्युबमा ६८ लाखभन्दा धेरै भ्युज पाइसकेको छ । ​​

गोकुल बाँस्कोटाले दुईतिहाइको सरकारबारे गरेको टिप्पणी ‘हेप्ने ? दुईतिहाइको सरकारलाई हेप्ने ?’ भनेर दिएको टिप्पणीमाथिको उनको प्रस्तुति पनि उत्तिकै लोकप्रिय छ ।

मनोज गजुरेल एक । तर, उनले धारण गर्ने रुप अनेक छन् । आवरणले मात्रै होइन । हाउभाउ र लवजमा पनि गजुरेलले केही कमी हुन दिँदैनन् ।

हरेक वर्षका गाइजात्रामा उनको हास्य मसला बजारमा आउँछ । यसपालि पनि उनले गाइजात्रामा ​प्रस्तुति दिए, विश्व स्वास्थ्य संगठनका सचिव टेड्रोस एड्नम र भारतीय पत्रकार अर्नब गोस्वामी बनेर । दुवै पात्रको क्यारिकेचरमा उनी परफेक्ट देखिए ।

यसपटक कोरोना महामारीका बीचको गाईजात्रा । टिभी र युट्युब​मा मात्रै प्रसारण भयो । दर्शकको ताली र हुटिङ पनि भर्चुअल नै । टिभीमा मात्रै प्रसारण भएको गाईजात्रा र दर्शकसामु प्रत्यक्ष गरिने गाइजात्राबारे उनी भन्छन्, ‘दर्शकसँग फेस टु फेस प्रदर्शन गर्न नपाउँदा फरक त हुन्छ नै । दर्शकसामु प्रत्यक्ष प्रस्तुत गर्दा पाइने आनन्द र भाइब्रेसन डिजिटल माध्यममा पाइँदैन ।’​

विश्वव्यापीकरणको प्रभावले प्रस्तुतिका विषयवस्तु सबैतिरका छान्नुपरेको उनी बताउँछन् । विशेषतः स्वास्थ्य र राजनीतिले विश्वव्यापी प्रभाव पारेको बताउँदै उनी थप्छन्, ‘हरेक चिज ग्लोबलाइज्ड भइरहेका छन् । स्वास्थ्य तथा इन्टरनेसनल पोलिटिक्सले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हामीलाई प्रभाव पारिरहेकै हुन्छ । यस्तो अवस्थामा ग्लोबल कन्टेन्ट नै प्राथमिकतामा पर्छन् । प्रस्तुति लोकल भएता पनि कन्टेन्ट ग्लोबल नै हुन्छ ।’

विश्वको साझा संस्था विश्व स्वास्थ्य संगठन, राजनीतिक धारबाट प्रभावित भएकोप्रति व्यंग्य गर्न टेड्रोस चुनिएको उनी बताउँछन् । उनी भन्छन्, ‘गएको आठ महिनामा सबैभन्दा धेरै हेरिएको अनुहार टेड्रोसको हो । उनीमार्फत ​कोभिडमा गरिएको राजनीतिको व्यंग्य गरिएको हो । उनी त पात्र मात्रै हुन् । त्यो व्यंग्य पुटिन, सि जिङ फिङ र डोनाल्ड ट्रम्पप्रति पनि लक्षित छ ।’

त्यसैगरी अर्नब गोस्वामी चयन गर्नुमा उनको कार्यक्रम प्रस्तुत गर्ने शैली नै रहेको गजुरेलले बताए ।